नेपालमा पछिल्लो समय चिया र कफी पिउने प्रवृत्ति बढेको छ । सहरतिर कफीको प्रयोग तीव्र गतिमा बढ्दै गएकाले ‘कफी कल्चर’ बढेको हो भने अर्कोतर्फ चियाको प्रयोग पनि उस्तै छ गतिले बढेको छ ।

नेपालमा वार्षिक करिब १३ हजार मेट्रिक टन चिया खपत हुन्छ भने दुई हजार एक सय ५० मेट्रिक टन कफी खपत भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले वताए ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८ सय २५ मेट्रिक टन रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा बढेर १३ हजार ८ सय ८५ मेट्रिक टन पुगेको बोर्डको तथ्याङ्कमा उल्लेख गरेका छन् ।

पुरीका अनुसार आन्तरिक उत्पादनको ४५ देखि ५० प्रतिशत चिया स्वदेशमै खपत हुन्छ भने बाँकी विदेश निर्यात हुँदै आएको छ । ‘चियामा हामी अत्मानिर्भर छौँ, स्वदेशमा उत्पादित चियाको ४५  देखि ५० प्रतिशत यहीँ खपत हुन्छ,’ पुरीले भने, ‘हामीले उपयोग गरी बढी भएको चिया निर्यात गर्छौं ।’

नेपालमा उत्पादित कुल कफीको झन्डै २० प्रतिशत विदेश निर्यात भएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले बताए । उनका अनुसार नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रति केजी १६ अमेरिकी डलर (करिब दुई हजार रुपैयाँ) प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै २ देखि ३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात भइरहेको उनले बताए