संखुवासभामा २२० केभीको बसन्तपुर सबस्टेसन सञ्चालनमा
२०८० मंसिर १२, मंगलवार ०७:२१
कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले समुन्द्र सतहबाट २ हजार ४५० मिटर उचाइमा निर्माण भएको २२०/१३२/३३ केभी वसन्तपुर सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको छ ।
आयोजनाअन्तर्गत सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार र बानेश्वरमा निर्माण गरिएका २०० केभी सबस्टेसन २०२२ साउनदेखि सञ्चालनमा छन् ।
भारतीय कम्पनी एलएण्डटीसँग सन् २०१८ को जुनमा २६.१ मिलियन अमेरिकी डलरमा सबस्टेसन निर्माणका लागि सम्झौता भएको थियो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार गरिएको जानकारी दिए ।
‘प्रशारण लाइन र सबस्टेसन तयार भइसकेको छ, तर जलविद्युत आयोजना बनाउन नसक्दा २२० केभीको लाइन कम क्षमतामा चलाउनु परेको छ,’ घिसिङले भने ।
“कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादित बिजुली इनरुवा सबस्टेसनबाट मोरङ र सुनसरी जिल्लामा पुर्याउने भएकाले सो क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादनको श्रोत बन्ने भएकाले भोल्टेजमा सुधार गरी विद्युत् आपूर्तिमा सुधार गरि राम्रो गुणस्तर संग विश्वसनीय हुनेछ ।
वसन्तपुर सबस्टेसनले ताप्लेजुङको तुम्लिङटार र ढुङ्गेसाँघु सवस्टेसनबाट विद्युत् प्राप्त गर्नेछ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित वसन्तपुरदेखि इनरुवा सबस्टेसनसम्म २२० केभीको डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ तार विस्तार गरी लाइन सञ्चालनमा ल्याइएको छ ।
वसन्तपुरदेखि बानेश्वर हुँदै तुम्लिङटारसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ ।
इनरुवा–बसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ १०५ किलोमिटर छ । डबल सर्किट टावर निर्माण भएको छ भने हाल सिंगल सर्किट तार पुलिङ लाइन मात्र सञ्चालनमा ल्याइएको छ ।
कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल सरकारको लगानी र भारत सरकारको एक्सपोर्ट इम्पोर्ट बैंकको सहुलियतपूर्ण ऋणमा तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो ।
अरुण र तमोर नदी र तिनका सहायक नदीमा निर्माण भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ ।
कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुन लागेको जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोर निर्माण गरिएको हो ।




