स्थानीय बजारमा सोमवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोवार भएको सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपियाँ बढेर एक लाख १७ हजार चार सय रुपियाँमा कारोवार भएको हो।

मङ्सिर महिनामा विवाहको लगनको सिजनको भए पनि सुनको कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । त्यसमा सुनको मूल्य उच्च हुनु पनि कारक तत्त्व बनेको छ । सुनको मूल्य उच्च हुँदा माग बढ्न सकेको देखिदैन ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यको प्रभाव स्थानीय वजारमा पर्ने गर्छन्। महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले इजरायल र हमासको युद्धका कारण साथै अमेरिकाको फेडरल बैङ्कको व्याजदर नबढाउने नीति कारण गर्दा सुनको मूल्य बढ्न गएको जानकारी दिनुभयो। डलर मजबुत भएपछि सुनको मूल्य घट्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दै गएकाले मूल्यमा समेत वृद्धि भएको उहाँको भनाइ छ । रुस, चीन, अमेरिका जस्ता ठुला शक्तिशाली देशहरूले सुनको रिजर्भ बढाएको कारणले पनि मूल्यमा प्रभाव पर्न गएको उहाँको भनाइ छ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरेकाले त्यतिबेला सुनको मूल्य प्रतितोला एक लाख २२ हजारदेखि एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।