हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई उडान गर्दै
२०८० मंसिर १६, शनिबार २०:४१
हिमालय एयरलाइन्सले आजदेखि चीनको सांघाईमा सिधा उडान सुरु गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको विमान १३७ यात्रु लिएर बिहान ९ः२० मा सांघाई उडेको थियो । विमान आज राति ९ बजे यात्रु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । काठमाडौंबाट सांघाई पुग्न ५ घण्टा २० मिनेट लाग्छ ।
कम्पनीका अनुसार हरेक शनिबार सांघाईका लागि नियमित उडान हुनेछ । हिमालय एयरलाइन्सको यो सांघाईको पहिलो उडान हो । योसँगै हिमालय एयरलाइन्सले चीनका विभिन्न नौ सहरमा आफ्नो सेवा विस्तार गरेको छ ।
उद्घाटन उडानबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले व्यापार तथा पर्यटनको मुख्य केन्द्र सांघाइमा सिधा उडानले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए ।
यसले धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा भित्र्याउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै, टिआइएका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड–१९ को महामारीपछि चीनबाट उडान विस्तार हुँदै गएकाले आगामी दिनमा नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्ने बताए ।
नेपालस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सिलर सि युले हिमालय एयरलाइन्सको काठमाडौं–साङ्घाई उडानले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण हुने बताए ।




