अबको पाँच वर्षमा नेपालमा डाक्टर पाउन मुस्किल : मन्त्री बस्नेत
२०८० माघ १५, सोमबार २०:०८
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षमा नेपालमा चिकित्सक पाउन गाह्रो हुने बताउनुभएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २८औँ वार्षिकोत्सवलाई सोमबार सम्बोधन गर्दै मन्त्री बस्नेतले आफ्नो विचारमा आगामी पाँच वर्षमा चिकित्सक र नर्स नपाउने अवस्था आउने बताए ।
उनका अनुसार नेपालमा शिक्षा ऐनका केही खुकुलो पक्ष छन् । उनले सबै कमजोरीलाई पन्छाएर अगाडि बढ्नुपर्ने बताए । साथै, बढ्दो जनसङ्ख्याका आधारमा स्वास्थ्यकर्मीको संख्यामा पनि उपयुक्त अनुपात हुनुपर्छ ।
पर्याप्त रोजगारीको अवसर नरहेको जानकारी दिँदै मन्त्री बस्नेतले गुणस्तरीय जनशक्ति अभाव हुने भएकाले नेपालमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको बताए ।
‘अबको पाँच वर्षमा देशमा डाक्टर र नर्स पाउनै मुस्किल हुने अवस्था आउनेछ । पक्कै पनि शिक्षा ऐनमा केही कुराको कमी छ र त्यस्ता कमजोरीलाई पार गर्दै अगाडि बढ्नुपर्छ । जनसङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीको आवश्यकता पनि बढ्दै जान्छ,’ उनले वताए
“एकातिर अपुग सेवा नपाएर धेरै स्वास्थ्यकर्मी छाडेर गएका छन्, कतिपयले स्वदेशमै बस्ने निर्णय गरे पनि गुणस्तरीय जीविकोपार्जनका लागि अवसर नपाएकाले पनि धेरै स्वास्थ्यकर्मीहरू छाडिरहेका छन् । यसले मुलुकमा दक्ष स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न कठिन भएको छ,’ मन्त्री बस्नेतले वताए




