राष्ट्रियसभा बैठकमा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व अध्यादेश पेस
२०८० माघ २२, सोमबार २१:३८
राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेस भएको छ ।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० प्रस्तुत गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ १ गते अध्यादेश जारी गरेका थिए ।
त्यसैगरी सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको प्रतिवेदन पनि समितिका अध्यक्ष सुरेशकुमार आलेले पेस गरेका थिए ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट कृषिमन्त्री बेदुराम भुसालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम अवरोध हटाउन राष्ट्रियसभामा आदेश दिनुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।




