भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मस्तिष्कघात भएर अस्पताल भर्ना भएका छन् । कोलकाताको एपोलो अस्पतालले उनलाई मस्तिष्काघात भएको पुष्टि गरेको छ ।

७३ वर्षीय चक्रवर्तीलाई छातीको दुखाइका कारण शनिबार बिहान ९ः४० बजे अस्पताल पुर्‍याइएको थियो । अस्पताल लैजाँदा उनी राम्रोसित बोल्न सकेका थिएनन् । 

दायाँ हात पनि राम्ररी चलिरहेको थिएन । अस्पतालले उनलाई आईसीयूमा राखेर मस्तिष्कको एमआरआईलगायत परीक्षण गरेको छ ।

एपोलो अस्पतालले आधिकारिक विज्ञप्ति जारी गर्दै चक्रवर्तीको बारेमा जानकारी दिएको छ । विज्ञप्तिअनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । “उहाँ अहिले होसमा हुनुहुन्छ र नरम खानेकुरा खानुभएको छ”, विज्ञप्तिमा भनिएको छ । चक्रवर्तीलाई विशेषज्ञ डाक्टरहरुको टीमले थप निगरानी गरिरहेको विज्ञप्तिमा उल्लेख छ