नेपाली कांग्रेसले सोमबार ललितपुरको गोदावरीमा सुरु हुने महासमितिको बैठकको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ 

 कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आइतबार गोदावरी सम्मेलन केन्द्रमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै महासमिति बैठकका लागि पार्टीको तयारी भएको पुष्टि गरेका हुन् ।

गोदावरीमा भएको बैठकको सूचना प्रवाह गर्न पार्टीले मिडिया सेन्टर पनि स्थापना गरेको छ ।

आजदेखि गोदावरीमा बस्ने महासमितिको मुख्य उद्देश्य पार्टीको नीति तर्जुमा गर्नु रहेको विश्वकर्माले बताउनुभयो । बैठकको सोमबार दिउँसो १ बजे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

बैठकमा नीति तर्जुमा, सांगठनिक संरचना, समसामयिक राजनीतिक मुद्दा, नेपालको वर्तमान आर्थिक अवस्था र केन्द्रीय कार्यसमितिको फागुन १ गते बसेको बैठकले पारित गरेको लेखापरीक्षण प्रतिवेदनलगायत विषयमा छलफल हुनेछ ।

विश्वकर्माले तोकिएको चार हलमा तराई, मधेस, हिमाली र पहाडी क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरी छुट्टाछुट्टै समूहमा प्रतिवेदनमाथि छलफल गरिने बताए ।