प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक आवश्यक परिमार्जन गरी पारित गरिने बताएका छन् ।

समाजवादी शैक्षिक मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले विधेयकलाई थप परिमार्जनले थप समृद्ध बनाउने बताउनुभयो ।

विधेयकमाथि सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसदमा दर्ता भएका संशोधन प्रस्तावका आधारमा विधेयक परिमार्जन गरिने बताए ।

 ‘शिक्षक, ट्रेड युनियन, प्राज्ञ, विद्यार्थी संगठन, सरोकारवाला र अभिभावकको प्रतिक्रियालाई समेटेर विधेयकमा आवश्यक परिमार्जन गरिने छ,’ उनले भनेका छन् 

उनले विगतमा राज्यले शिक्षक संघ र अन्य सरोकारवालासँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीले देशमा केही गर्न सम्भव छ भन्ने सकारात्मक कथाको विकास गर्न आह्वान गर्दै ब्रेन ड्रेन हुन नदिन प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तन उन्मुख शिक्षाको विकासमा गुणात्मक प्रगति हासिल गर्ने आधारको विकास हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले गुणस्तरीय सुधारका लागि योग्यतासँगै पुरस्कार र सजायमा जोड दिइएको बताए । शैक्षिक क्षेत्र, ‘विश्वविद्यालयलगायत शैक्षिक संस्थामा योग्यताका आधारमा नियुक्ति गरिने र शिक्षा क्षेत्रमा पुरस्कार र दण्डको व्यवस्था गरिनेछ ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले फोरमले समाजवाद उन्मुख शिक्षामा बहस केन्द्रित गर्नुपर्ने बताए