प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयक पारित गराउन सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दललाई समर्थन जुटाउन आग्रह गरेका छन् ।

यसअघि आज प्रधानमन्त्री दाहालले शेरबहादुर देउवा र केपी ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

टीआरसी विधेयक पारित गर्न विपक्षी दलको समर्थनको सर्तमा प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई राष्ट्रिय सभाको अध्यक्षको पद प्रस्ताव गर्न इच्छुक रहेको स्रोतले जनाएको छ ।

तर, सरकारको प्रमुख गठबन्धन दल नेपाली कांग्रेसले यो प्रस्तावमा असहमति जनाएको नेकपा (माओवादी केन्द्र)का एक पदाधिकारीले खबरहबसँग कुरा गरे ।

‘यदि हामीले टीआरसी विधेयक पास गर्ने हो भने पार्टी अहिले एमालेलाई राष्ट्रियसभाको अध्यक्षको पद प्रस्ताव गर्ने अवस्थामा छ,’ स्रोतले थपेका छन् ।

प्रधानमन्त्री दाहालले ओलीलाई यस विषयमा गठबन्धनसँग छलफल गर्ने आश्वासन दिएका छन् ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन चैत १२ गते हुने भएको छ, जसमा नेकपा (माओवादी केन्द्र) र कांग्रेस दुवैले उम्मेदवारी घोषणा गरेका छन् ।