राष्ट्रपति पौडेलले टुँडिखेलमा सेना दिवस मनाउँदै
२०८० फाल्गुन २५, शुक्रबार २०:२१
महाशिवरात्रि तथा २६१ औँ सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् ।
सो अवसरमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै नेपाली सेनाले चढाएको सलामी ग्रहण गरेका थिए । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट प्रकाशित वार्षिक पत्रिका ‘सिपाही–२०८०’ को विमोचन गरे । उनले ‘फ्री फल जम्प’ प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय हुने टंकबहादुर डाँगी र जगन्नाथ दानाइलाई पनि पुरस्कार प्रदान गरे ।
त्यसैगरी, राष्ट्रपतिले सेना दिवसको अवसरमा ब्यान्ड बजाउने भारतीय, बेलायती र अमेरिकी सैन्य युनिटका टोली नेताहरूलाई उपहार प्रदान गरे।
यसअघि सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि तथा राष्ट्रिय झण्डासहित ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । सेनाले महाशिवरात्रि परेड र राइफल र तोपसहित मार्चपास्ट गरेको थियो । सेनाले विभिन्न कला, नृत्य र संगीत समेत प्रदर्शन गरेको थियो ।
साथै नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रयोग गर्ने विभिन्न किसिमका सैन्य सवारी साधन, उपकरण र हतियारको प्रदर्शनी गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थिति थियो । सेना दिवस समारोहमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
सेना दिवस मनाउन टुँडिखेल र आसपासका क्षेत्रमा पनि ठूलो संख्यामा मानिसहरुको भीड लागेको थियो ।
कार्यक्रमको नेपाल टेलिभिजन र अन्य सञ्चार माध्यमले पनि प्रत्यक्ष प्रशारण गरेका थिए । कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका थिए ।




