प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामहरु राष्ट्रिय सहमतिका आधारमा टुङ्ग्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् ।

द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेशको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारको इच्छा भए पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सम्पन्न हुन नसकेको प्रचण्डले स्वीकार गरे । उनका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने शक्ति छन् ।

सरकार प्रमुखले शान्ति प्रक्रियाका बाँकी काम गर्न सरकारले विधेयक अगाडि बढाएको जानकारी दिए ।

साथै उनले द्वन्द्वपीडितका परिवारलाई रोजगारी, द्वन्द्वमा घाइते भएकाहरुको उपचार र आवासको व्यवस्था गर्न सरकारले पहल गरिरहेको बताए ।

प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्यायाएर दिगो शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको दोहोर्‍याए ।