राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरका २ हजार ६४ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । यो च‌त्र २७ मा समापन हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्छ । परीक्षार्थीहरु आज अङ्ग्रेजीको प्रश्नपत्रमा सहभागी भएका छन् ।

बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण बनाउन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

परीक्षामा १० हजार ८०६ विद्यालयका कुल ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी छन् । परीक्षार्थीमा २ लाख ५० हजार ७ सय ७२ महिला र २ लाख ५३ हजार ६२७ पुरुष तथा १५ जना यौन तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको बोर्डका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ परीक्षार्थी प्राविधिक तर्फबाट एसइईमा उत्तीर्ण भएका छन् ।

परीक्षाका लागि कूल २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ जसमा सबैभन्दा बढी काठमाडौंमा १२७ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक केन्द्र रहेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

यसैबीच, जापानको एभरेष्ट स्कुलमा एउटा परीक्षा केन्द्र स्थापना गरिएको छ जहाँ १५ केटी र ८ केटा गरी २३ जना विद्यार्थी परीक्षामा बसिरहेका छन् । परीक्षालाई सहज रुपमा सञ्चालन गर्न ७७ हजार ४ सय ८५ जनशक्ति प्रत्यक्ष परिचालन गरिने बोर्डले जनाएको छ ।