मन्थली–लुक्ला उडान सुचारु
२०८० चैत्र १८, आईतवार १३:२७
प्रतिकूल मौसमका कारण एक सातादेखि बन्द मन्थली–लुक्ला रुटको उडान सुचारु भएको छ । मौसम खराबीका कारण छिमेकी सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थल एक साताका लागि बन्द भएको छ । आज बिहान लुक्लामा मौसम सफा भएसँगै मन्थली–लुक्ला उडान सुचारु भएको छ ।
लुक्ला विमानस्थल बन्द हुँदा सीता, तारा र समिट एयरलाइन्सका जहाज मन्थलीमा ग्राउन्डेड भएका थिए । लुक्ला जाने विदेशी पर्यटकलाई बस्नका लागि कोहीले सोलुको सुर्केसम्म हेलिकप्टर चढ्ने गरेका छन् भने कोहीले फाप्लुसम्म सडकबाट यात्रा गरेका छन् ।
रामेछापका तारा एयरका इन्चार्ज प्रवीण सुवेदीले मौसममा सुधार आएको जानकारी पाएपछि लुक्ला उडान सुचारु भएको पुष्टि गरे । मौसममा सुधार आएसँगै अहिले विदेशी पर्यटक काठमाडौंबाट सडक हुँदै मन्थली लुक्ला पुग्न थालेका छन् ।
मौसमको अवस्थालाई ध्यानमा राखी आज दिनभर मन्थली–लुक्ला उडान गर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) रामेछापका वरिष्ठ अधिकृत प्रज्वल गुरागाईंले जानकारी दिए ।




