इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंह कांग्रेस उम्मेदवार वने
२०८० चैत्र २२, बिहीबार १९:३६
अन्य दलले उम्मेदवार चयन गरि प्रचारप्रसार लागेपछि नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गर्न सकेको छ ।
आज (बिहीबार) सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले इलाम क्षेत्र नम्बर २ का लागि कांग्रेस इलामका सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाए।
त्यस्तै बैठकले बझाङको प्रदेशसभा उपनिर्वाचनका लागि अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए। सिंह कांग्रेस दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन्। सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्री रहेका सिंहको गत असार पाँच गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।




