अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त
२०८० चैत्र २५, आईतवार १९:४७
गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का संसदीय नेता खगराज अधिकारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई आज पदमा नियुक्त गरेका हुन् ।
यसअघि उनले एमालेका २२, नेकपा (माओवादी केन्द्रका ८) र एक स्वतन्त्र गरी ३१ जना सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि कम्तीमा ३० सदस्यको समर्थन आवश्यक हुन्छ ।
नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि विश्वासको मत नमिल्ने हिसाबले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो ।
तर, गण्डकीमा २७ सदस्य रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नयाँ मुख्यमन्त्री नियुक्तिप्रति चिन्ता व्यक्त गरेको छ । यस सम्बन्धमा प्रदेश प्रमुखलाई पत्र बुझाएको छ ।
काङ्ग्रेसका प्रदेश प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले नयाँ सरकार गठनका लागि सभामुखको समर्थन पेश गर्नु नैतिकता नभएको बताए ।




