आठ अर्वकाे हिल्टन हाेटल सञ्चालनमा आउँदै
२०८० चैत्र २६, सोमबार २१:०२
नेपाली व्यवसायी शंकर समूहले निर्माण गरिरहेको पाँच तारे होटल हिल्टन सिटी काठमाडौं दुई महिनाभित्र संचालनमा आउने तयारी गरेको छ
आठ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन होटलको ९८ प्रतिशत काम सकिएको छ। समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले निर्माण अन्तिम चरणमा पुगेको भन्दै आगामी जुनबाट होटल सञ्चालन गर्ने जानकारी गराए ।
‘अहिले होटलको ९८ प्रतिशत काम सकिएको छ। हामी जुनबाट सफ्ट ओपनिङ गर्ने तयारीमा छौं,’ प्रबन्ध निर्देशक अग्रवालले बिजमाण्डूसँग भने, ‘यो होटल फाइभ स्टार अपस्केल हुनेछ।
होटल सञ्चालनका लागि कर्मचारी समेत नियुक्ति गरिसकिएको छ। अग्रवालका अनुसार विभिन्न डिपार्टमेन्टका लागि १०० कर्मचारी नियुक्त गरिएको हो। हिल्टनले आफ्नो वेबसाइटमार्फत बुकिङ खुला गरिसकेको छ। वेबसाइटमा प्रति कोठाको मूल्य १ सय ९० डलर राखिएको छ।
उक्त होटलमा १७४ वटा कोठा छन्। अग्रवालका अनुसार अहिले भइरहेका होटलभन्दा थप सेवासुविधा रहने गरी हिल्टन सञ्चालनमा आउनेछ।
‘होटल बनाउँदा मटेरियलदेखि केहीमा पनि कम्प्रोमाइज गरेका छैनौं। होटल अहिले सञ्चालनमा रहेकाभन्दा पृथक हुनेछ,’ अग्रवालले भने, ‘हामीले विदेशकोजस्तै फाइभ स्टारको फिल दिनेछौं।’




