प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा देशको पूर्वाञ्चललाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र), प्रदेश केन्द्रीय समिति सदस्य र प्रदेश पदाधिकारीको आजको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक समृद्धि र समाजवादको आधार तयार गरी बजेट ल्याइने बताए ।

उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट उत्पादन र रोजगारीमुखी हुने स्पष्ट गर्दै सरकारले जनताको हितमा महत्वपूर्ण पहल गरेको बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारका सकारात्मक कामबाट जनतामा आशा जगाएको बताउँदै सुशासन र सामाजिक न्यायको सन्दर्भमा सरकारले गरेका सकारात्मक कामलाई जनतासमक्ष लैजानुपर्नेमा जोड दिए ।

“माओवादी आन्दोलनमा सहभागी सबै एकजुट हुनुपर्छ। समाजवादी फोरममा सहभागी साथीहरू पनि एकताको मुडमा छन्। बाँकी साथीहरू एकताको विकल्प नभएको निष्कर्षमा पुगेका छन्। हामी सबै एकजुट भएर उभिनेछौँ,” उनले भनेका छन् ।

प्रधानमन्त्रीले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउनुपर्नेमा जोड दिँदै सङ्घीयता, समावेशीता र धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउन प्रयास भइरहेकाले सबै सचेत रहन आग्रह गर्नुभयो ।

उनले संघीय निजामती सेवा ऐन पासको चरणमा रहेको र संघीय प्रहरी ऐन पनि तयार भइसकेको र प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको बताए ।