नेपालीबाट मानसरोवर र कैलाश पर्वत दर्शन गर्दै भारतीय पर्यटक
२०८१ बैशाख ७, शुक्रबार १३:४०
हिन्दु धर्मका भारतीय पर्यटकले तिब्बतमा अवस्थित मानसरोवर र कैलाश पर्वत दर्शनका लागि नेपाली अकास रोज्न थाले
नेपालकाे नेपालगन्ज आइपुगेका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकाइवरी तयार भइसकेका थिए। कैलाश पर्वत दर्शन गर्न जानुअघि नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे। त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो।
विमानमार्फत अकासबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए। विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो।
हिन्दु धर्ममा कैलाशलाई महादेवको घर भनिन्छ। महादेव बस्ने ठाउँ हेर्ने अभिलाषाले तीर्थयात्रीको अनुहार उज्यालिएको थियो।‘विमानले जसै टेकअफ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो। यात्रीहरुको मनमा कुतूहल बढ्दै गरेको प्रस्ट देखिन्थ्यो। झन्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो’, पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले वताए ।
विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका उनीहरुले दुई हात जोडेर नमस्कार गरे, महादेवको घर अर्थात् कैलाश पर्वतलाई। उनीहरु मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे।
यत्तिकैमा विमानमा रहेका पण्डितले विमानका यात्रुको ध्यानाकर्षण गराए। सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न अह्राए अनि मन्त्रोचारणद्वारा कैलाश पर्वतका अगाडि विमानभित्रैबाट पूजा गराउन सुरु गरे। उनले मन्त्र सकाएपछि कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्त्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले।
महादेवको वासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरु पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए।
विमानले तीनचार फन्को लगाइसकेको थियो । कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुको आँखाबाट छल्किरहेको थियो। कोही आँखाभरि खुसीका आँसु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरु गरिरहेका थिए।




