स्याटेलाइट, मोबाइल र इन्टर्नेट जोड्ने प्रविधि
२०८१ बैशाख ७, शुक्रबार १९:००
कति प्रकृतिको सुन्दरतामा मन्त्रमुग्ध भएको मात्र पोस्ट लेख्नु, आज आफ्नै अफिसको काम (मैले लिड गरेको एउटा प्रोजेक्ट) बारेमा पोस्ट लेख्न मन लाग्यो।
5G, 6G तथा भविष्यका मोबाइल सञ्चार प्रणालीका प्रयोगकर्ताले पृथ्वीमा रहेका मोबाइल बेस स्टेशनका साथसाथै आकाशमा रहेका स्याटेलाइटमा पनि स्वस्फूर्त जोडिएर के सुगम सहर के दूर्गम गाउँ, के हिमाल के समुन्द्र, के मरूभूमि के घना जङ्गल जता गए पनि उत्तिकै गुणस्तरीय सेवा पाउने परिकल्पना गरिएको छ। सो परिकल्पनालाई साकार पार्नका लागि बेस स्टेशन र स्याटेलाइट दुबैमा जोडिन सक्ने मोबाइल फोन सेट (जस्तै iPhone) पनि बन्दैछन् । तर ती बेस स्टेशन, स्याटेलाइट र इन्टर्नेटका भौतिक संरचनालाई एक आपसमा जोडेर भरपर्दो गुणस्तरको सेवा प्रदान गर्नका लागि आवश्यक एकीकृत नेटवर्क कन्ट्रोल आर्किटेक्चर र सम्बन्धित प्रविधिको अझै विकास भएको छैन। यस्तो प्रविधिको अनुसन्धान, विकास तथा स्ट्याण्डर्ड बनाउने उदेश्यले हाम्रो अफिसमा दुई वर्षपहिले एउटा प्रोजेक्टको शुरुवात् गरियो र कार्यान्वयनका लागि मेरो टिमलाई जिम्मा दिइयो।
इन्टर्नेट आर्किटेक्चर, स्याटेलाइट कम्युनिकेशन्स्, मोबाइल नेटवर्क आर्किटेक्चर आदिको राम्रो ज्ञान भएका धेरै जना अनुसन्धानकर्ताहरूलाई यो प्रोजेक्टमा जोड्दै एकीकृत कार्यान्वन योजना बनाएर समन्वयात्मक भूमिका निभाउनु पर्ने भएकोले यो काम निकै चुनौतिपूर्ण थियो। तर यो दुई वर्षमा हामीले सन्तोषजनक परिणाम हासिल गर्न सकेका छौं। जमिनमा रहेका मोबाइल नेटवर्क र इन्टर्नेट (दुवैलाई समग्रमा Terrestrial Networks का संरचना र स्पेसमा रहेको स्याटेलाइट नेटवर्क लाई जोड्ने एकीकृत नेटवर्क कन्ट्रोल आर्किटेक्चर र सम्बन्धित प्रविधिको हामी पहिलो फेजको अनुसन्धान पुरा गरेका छौं। हामीले डिजाइन गरेको प्रविधिको मूल्याङ्कन गर्न तथा क्रमिक रूपमा परिमार्जन गर्दै लैजानका लागि हाम्रो प्रयोगशालामा एउटा टेस्टबेड सिस्टमको पनि विकास गरेका छौं, जसको डेमोन्स्ट्रेशन हाम्रो अफिसका प्रेसिडेन्ट, भाइसप्रेसिडेन्ड सम्मेलित उच्चस्तरीय व्यवस्थापिक टिमलाई गत हप्ता र सिंगापुरको राष्ट्रिय अनुसन्धान प्रतिष्ठान A*STAR बाट आएका अनुसन्धान कर्ताहरूलाई यो हप्ता देखाइएको छ। यो डेमो सिस्टमलाई यो २०२४ सालमा जापानभरि फैलिएको टेस्टबेड नेटवर्क सिस्टममा जडान गरी सो प्रविधिको प्रयोग गरी नयाँ नयाँ नेटवर्क सेवा वा एप्लिकेशन सेवा प्रदान गर्न इच्छुक निजी क्षेत्रका कम्पनीहरूको पहुँचमा पुर्याउने योजना छ।
यो Integrated Network Control Architecture लाई ITU मा स्टाण्डर्ड बनाउने काम पनि भरखरै सम्पन्न भएको छ। ITU-T Recommendation Y.3207 का नामले यो चाँडै नै फ्री डाउनलोड गर्न सकिने गरी वेबसाइटमा उपलब्ध हुनेछ। यस प्रविधिसम्बन्धी IEEE Communications Standards Magazine मा गत महिना एउटा आर्टिकल प्रकाशित भएको छ ।
(डा.वेद काफ्लेका निजी विचार हुन् ,उनी लामो समयदेखि जापानमा वसी अनुसन्धानमा लागि रहनु भएको छ)





