लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना
२०८१ बैशाख २५, मंगलवार ०९:२०बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्तिनगर घोषणा गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वानले सरकारसँग माग गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वानहरुले लुम्बिनीलाई शान्तिको गर्भ र बौद्ध दर्शनको उद्गमस्थलका रुपमा प्रवर्द्धन गर्न माग गरेका छन् ।
उनीहरुले लुम्बिनीलाई बौद्ध ध्यान र साधनाको राजधानी घोषणा गर्न पनि माग गरेका छन् ।
‘विश्वव्यापी चुनौती समाधानको सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ गोष्ठीमा बोल्दै उनीहरुले नेपाललाई बुद्ध जन्मभूमि र शान्तिको देश घोषणा गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरे ।
उनीहरुले विद्यालय तहदेखि नै बुद्ध शिक्षालाई पाठ्यक्रममा समावेश गरी बौद्ध दर्शनको अध्ययन र अनुसन्धानलाई विशेष प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
गोष्ठीपछि जारी विज्ञप्तिमा विश्वभर बौद्ध शिक्षाको अध्ययन र अनुसन्धानमा जोड दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।
लुम्बिनी घोषणापत्रमा वातावरणीय संकट, आर्थिक संकट, द्वन्द्व, अपराध र मानसिक प्रतिकूलता जस्ता विश्वव्यापी समस्याको समाधान र न्यूनीकरण गर्न दिगो शान्ति र बुद्धिसहितको समाज निर्माण गर्न बौद्ध शिक्षा आवश्यक छ ।
आचार्य बालकृष्ण र डा विकासानन्दले ध्यान र साधना नै मानिसले दुःखबाट मुक्ति पाउने माध्यम भएको बताउँदै समस्याबाट मुक्ति पाउन योग गर्न आग्रह गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा.सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शन र योगलाई जोड्ने नयाँ पाठ्यक्रम बनाउने तयारी भइरहेको बताए ।
गोष्ठीमा थाइल्याण्ड, फ्रान्स, रिपब्लिक अफ इस्टोनिया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वेलगायत देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए




