उपल्लो मुस्ताङमा चराको नयाँ प्रजाति
२०८१ जेष्ठ ४, शुक्रबार २१:१३
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा फेला परेको छ ।
नेपाल पक्षीविद् संघका अनुसार उक्त चरालाई ‘फुस्रो सराउ’ भनिएको हो ।
नेपाल पक्षी अभिलेख समितिका अध्यक्ष डा तुलसी सुवेदीले जेठ २ गते बिहान ८ बजेर ४९ मिनेटमा पक्षीविद् शंकर तिवारीले हिँडिरहेको अवस्थामा चरा देखेको जानकारी दिनुभयो ।
चराहरूको तस्बिर र विवरणको अध्ययन र राष्ट्रिय/अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सुझावका आधारमा समितिले नेपालका लागि नयाँ प्रजाति पहिचान गरेको हो।
चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’ र वैज्ञानिक नाम स्पोडियोप्सर सिनेरेसस हो।
संघका अनुसार उत्तर र पूर्वी एसियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा यो चरा पाइन्छ ।
यो लाओस, म्यानमार, फिलिपिन्स र थाइल्याण्डमा प्रवासी चराका रूपमा रेकर्ड गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
योसँगै नेपालमा चरा प्रजातिको संख्या ८९५ पुगेको छ ।
यो चरा नेपालबाट नजिक रहेको चीनका विभिन्न ठाउँमा पाइन्छ ।
पक्षीविद्हरूका अनुसार यो चरा जाडोमा दक्षिणतिर बसाइँ सर्ने र जाडो दक्षिणपूर्वी चीन, ताइवानमा बिताउने गर्छ।
लोमान्थाङमा फेला परेको चरा आफ्नो प्रजनन क्षेत्रमा फर्किने क्रममा आप्रवासी भएर आएको मानिन्छ ।




