रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ ले महिलालाई आत्मनिर्भर बनाउन सामूहिक तरकारी खेतीमा जोड दिएको छ ।

स्थानीय तहले वडामा महिलाको ६ वटा समूह बनाएर सामूहिक तरकारी खेती गर्न प्रोत्साहन गरेको छ ।

वडामा ६ रोपनी जग्गा भाडामा लिएको ६ रोपनीमा तीन समूहले व्यावसायिक तरकारी खेती गरिरहेको वडा अध्यक्ष शाहीराम विकले बताए ।

महिला समूहले यसपटक ३० क्विन्टल प्याज र ३५ क्विन्टल आलु उत्पादन गर्न सफल भएका छन् ।

महिला समूहले आलु र प्याज बेचेर करिब चार लाख रुपैयाँ आम्दानी गरेका छन् । वडाका युवाहरुले महिला समुहलाई सहयोग गर्दै आएका छन् ।

स्थानीय तहले कृषि सम्बन्धी समस्या समाधान गर्न एकजना कृषि प्राविधिकलाई व्यवस्थापन गरेको छ ।

त्यसैगरी कृषिजन्य वस्तुको बिक्री वितरण गर्न सहज भएको छ ।

थप संख्यामा महिला समुहलाई समावेश गरी थप तरकारी खेती गर्ने योजना रहेको छ ।

मानव विकास तथा सामुदायिक सेवाले महिलालाई कृषिमा आकर्षित गर्न प्रत्येक समूहलाई रु ६८ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

महिला समूहसँग आवद्ध कमला केसीले एचडीसीएसको सहयोग र वडा कार्यालयको समन्वयमा तरकारी खेती गर्न प्रेरित भएको बताइन् ।

अध्यक्ष बिकेले सामुहिक तरकारी खेती प्रवर्द्धन गर्न बीउ र कृषि औजार उपलब्ध गराउँदै आएको बताए ।