नेपाल र चीनको तिब्बत स्वायत्त क्षेत्र (टार) बीचको तिप्तला सीमा नाका ताप्लेजुङको भक्तालुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा पहिलो पटक नेपाली नम्बर प्लेटका सवारीसाधन आइपुगेका छन् । सिमाना ५ हजार १ सय मिटरको उचाइमा रहेको छ । 

उत्तर–दक्षिण लोकमार्ग अन्तर्गतको बाँकी सडक ट्रयाकको काम सकिएपछि गत जेठ ३ गते पहिलो पटक तिप्तला नाकामा स्काभेटर र ट्याक्टर पुगेको भक्तालुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिए । सुकेपानीदेखि ओलाङचुङ्गोलासम्मको ट्र्याक निर्माण र यसअघि निर्माण भएको गोलादेखि तिप्तलासम्मको सडक मर्मत तथा स्तरोन्नति भएपछि नेपाली सवारीसाधन तिप्तलासम्म ल्याउन सकिने उनले बताए ।

सडक निर्माण तथा स्तरोन्नतिको काम एसबीए इलाइट जेभी कम्पनीले गरिरहेको छ । निर्माण कम्पनीले चैत मसान्तसम्म (चैतको मध्यदेखि वैशाख मसान्तसम्म) सडक तिप्तलासम्म जोड्ने लक्ष्य राखेको थियो । तर, सुकेपानी–जोङगिन सडकखण्डमा कडा चट्टान लागेकाले त्यो पूरा हुन सकेको छैन । 

सडक सञ्जाल आएपछि जिल्लाका जनता विशेष गरी तिप्तला सिमानामा पर्ने ओलाङचुङ्गोला, याङ्मा र घुन्साका बासिन्दा खुसी भएका छन् ।

तिप्तलासम्म सडक विस्तारसँगै नेपाल, भारत र चीन जोड्ने सडक सञ्जाल स्थापना भएको छ । उत्तर-दक्षिण लोकमार्गले भारतको विराटनगरको रानी नाकाबाट तमोर करिडोर हुँदै तिब्बतको सीमानामा रहेको तिप्तलालाई जोड्छ। करिब २९२ किलोमिटर लामो यो सडक नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्ग मानिन्छ ।

तर, तिप्तला नाका सडक सञ्जालमा जोडिए पनि अहिलेसम्म सञ्चालनमा आएको छैन । कोभिड–१९ को महामारी सुरु भएको पाँच वर्षदेखि सीमा नाका बन्द छ । चीनले एकतर्फी रुपमा बन्द गरेको तिप्तला नाका खोल्न निरन्तर प्रयास भइरहेको छ । बैशाख २५ गतेबाट नाका खुल्ने घोषणा भए पनि अझै हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा स्थानीय सुरक्षा अधिकारीसहितको नेपाली टोलीले पछिल्लो समय तिप्तला नाका खोल्ने विषयमा डिङ्ग्ये जिल्ला सरकारका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलका क्रममा दुवै पक्षले वैशाख २५ गते नाका खोल्ने सहमति गरेका थिए । 

आचार्यका अनुसार प्राविधिक कारणसहित टीएआरको अपुग तयारीका कारण सीमा सञ्चालन हुन नसकेको बताए । 

यसैबीच वैशाख ७ गतेदेखि नाका सञ्चालनमा आउने जानकारी पाएपछि धेरै स्थानीयले टारमा प्रवेश स्वीकृति लिएका थिए ।ओलाङचुङ्गोलाका स्थानीय तेन्जिङ वालुङका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रवेश स्वीकृति लिएर ३० भन्दा बढी मानिस प्रवेशको पर्खाइमा थिए । मे ७ मा तिब्बत तर त्यसो गर्न दिइएन । प्रवेश स्वीकृति लिएकाहरु अझै पनि टिको पर्खाइमा रहेको उनले बताए