प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपलब्ध जनशक्तिलाई ज्ञान, सीप र प्राविधिक विज्ञताका आधारमा रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयन गर्ने बताउनुभएको छ ।     

रोजगार बैंकले रोजगारीको माग र आपूर्ति र उद्यमशीलता विकासको विषयलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको तर्क थियो ।     

आज यहाँ आयोजित श्रमधन रोजगार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वदेश फर्किएका आप्रवासी तथा अन्यको श्रम, सीप र अनुभवको अधिकतम उपयोग गरी उद्यमशीलता विकासलाई तीव्रता दिइने बताउनुभयो ।     

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट फर्किएका करिब एक लाखलाई उनीहरुको ज्ञान, पूँजी, सीप र प्राविधिक विज्ञताका आधारमा रोजगारी दिन सरकारले आवश्यक व्यवस्था गरेको बताए ।     

सो अवसरमा प्रधानमन्त्रीले एसडीजी र सरकारका नीति तथा कार्यक्रमलाई मिलाउन श्रमिकको सुस्वास्थ्य र हितको रक्षा गरिने बताउनुभयो ।     

त्यस्तै प्रधानमन्त्रीले रेमिट्यान्सको समुचित सदुपयोग गरी उद्यमशीलता विकासमार्फत घरेलु रोजगारी बढाउन सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्रीले दीर्घकालीन रुपमा नागरिकलाई घरेलु रोजगारीको सुनिश्चितता गरी देशको समृद्धि र नागरिकको हितमा प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।     

“सरकारले सम्भावित रोजगारीका आकांक्षीहरूलाई उनीहरूको सीप र क्षमता अभिवृद्धि गरी थप प्रतिस्पर्धात्मक बनाउने योजना बनाएको छ। रोजगार मेलाको कार्यान्वयनले ठूलो संख्यामा श्रम बजारमा प्रवेश गर्ने युवालाई प्रत्यक्ष लाभ पुग्ने छ,” प्रधानमन्त्री प्रचण्डले भने ।     

रोजगारी सिर्जना र मर्यादित श्रमको विकासबाट समृद्धिको यात्रा अगाडि बढाउन सकिने बताउँदै प्रधानमन्त्रीले यसलाई साकार पार्न सरोकारवालालाई साझा प्रयास र सहकार्य गर्न अपिल गर्नुभयो ।     

प्रधानमन्त्रीले श्रमधन रोजगार मेलालाई सार्थक हस्तक्षेपको संज्ञा दिँदै मेलाले श्रम तथा रोजगारी क्षेत्रमा रहेका अवसरको दोहन गर्न र समस्याको एकल विन्दु समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।     

त्यसैगरी आगामी आर्थिक वर्षको नयाँ बजेटमा रोजगारी सिर्जना, स्वदेश फर्किएकाहरुको उद्यमशीलता विकास, कृषि क्षेत्रको पुनरुत्थानलगायतका विविध कार्यक्रम ल्याएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।