राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

बिहीबारदेखि सुरु हुने ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न उनी आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन् ।

उनलाई बिदाइ गर्न उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उनले जुन १२ मा स्वीस कन्फेडेरेसनका अध्यक्ष भायोला एमहेर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल गणतन्त्र बनेपछि नेपालका राष्ट्राध्यक्ष र स्विस महासंघबीच भएको यो पहिलो द्विपक्षीय भेट हो ।

जेनेभामा बसाई सकेपछि राष्ट्रपति पौडेल असार १५ गते जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

उनले जर्मनीका राष्ट्रपति फ्र्याङ्क-वाल्टर स्टाइनमेयरको निमन्त्रणामा जुन १७ मा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सविता पौडेल पनि रहनेछन् ।

प्रतिनिधिमण्डलका अन्य सदस्यमा परराष्ट्र मामिला विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।