नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मेड इन नेपाल हुन्डाई भेन्यु ग्राहकलाई डेलिभरी गरेको छ । केही दिन पहिले नवलपरासीको रामग्राममा अवस्थित हुन्डाईको एसेम्बली प्लान्टमा मेड इन नेपाल हुन्डाई भेन्यु सार्वजनिक गरिएको थियो ।

हुन्डाईको बुटवलस्थित डिलरबाट हुन्डाई भेन्युको एस भेरिएन्ट डेलिभरी गरिएको हो । यद्यपि यसको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । ग्राहकको विशेष अनुरोधमा सो गाडीको मूल्य तोक्नु भन्दा पहिले नै डेलिभरी गरिएको कम्पनी स्रोतको भनाइ छ ।

हाल आयात गरिएको हुन्डाई भेन्युको एस भेरिएन्टको मूल्य ४८ लाख ९६ हजार मूल्य तोकिएको छ । करिव ४ लाख रुपैयाँ कम मूल्य उपलब्ध हुने अनुमानका साथ सो गाडी ग्राहकलाई डेलिभरी गरिएको बताइएको छ ।

हुन्डाईको इन्ट्री लेवल भेरिएन्टको २०२४ मोडलमा नेपालमा उपलब्ध भेरिएन्ट हुन्डाई भेन्यु ई हो । यसको मूल्य भने ४१ लाख ९६ हजार रुपैयाँ छ । हाल नेपालमा उत्पादन भएको र ग्राहकलाई डेलिभरी गरिएको एस भेरिन्ट हो ।