ताप्लेजुङमा बाढी र पहिरोका कारण ८१ परिवार विस्थापित
२०८१ असार ५, बुधबार २०:१०
मनसुन सुरु भएदेखि नै ताप्लेजुङमा बाढी पहिरोका कारण ८१ परिवारका तीन सय ४२ जना विस्थापित भएका छन् ।
एक साताको अवधिमा पहिरोमा परी पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पहिरोका कारण आठ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने थप १८ घर उच्च जोखिममा छन् ।
जिल्लाका विभिन्न स्थानमा ५५ घर पहिरोको जोखिममा रहेको सिडिओ आचार्यले जानकारी दिए । ‘बाढी र पहिरोका कारण ८४ गाईवस्तुको मृत्यु भएको छ, चार सवारी साधनमा क्षति पुगेको छ भने दुईवटा मोटर चल्ने काठका पुलसहित चारवटा पुल बाढीले बगाएको छ’, उनले भने ।
७० विस्थापित परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएको बताउँदै उनले ११ परिवार नजिकैको विद्यालयमा आश्रय लिएको बताए ।
विस्थापित हुनेमा सबैभन्दा बढी सिरिजाङ्घा, सिडिङवा, मिकवाखोला र फाक्ताङ्लुङ गाउँपालिकाका परिवार रहेका छन् । फाक्ताङलुङ–२ मा पहिरोले घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँचथरको फिदिमका एक जनाको सिरिजाङ्घामा मृत्यु भएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडक र जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्थानीय तहले सडक मर्मतका लागि पहल गरिरहेका छन् । सिरिजाङ्घा र फाक्ताङ्लुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
बाढी र पहिरोले अलैंची खेतीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । दिनहुँजसो पानी पर्न थालेपछि ग्रामीण भेगका बासिन्दा वर्षाले विपद्को त्रासमा बाँचिरहेका छन्




