संविधान संशोधनका लागि सहमति आवश्यक : गगन थापा
२०८१ असार २७, बिहीबार १५:५३
नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले एउटै राजनीतिक दलको मर्जीमा मात्रै संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै थापाले संविधान संशोधनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुनेमा जोड दिए ।
‘संविधान कार्यान्वयनको १० वर्षे अवधिमा देखिएका समस्यालाई सम्बोधन गर्न सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक छ,’ उनले भने ।
थापाले नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भएको सातबुँदे सहमतिलाई नेपाली कांग्रेसले पालना गर्ने बताए ।
यो सहमतिअनुसार पहिलो चरणमा नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्ने उनले बताए ।
थापाले सातबुँदे सहमतिका लागि नेपाली कांग्रेसको कार्यसम्पादन समितिमा व्यापक छलफल भएको र यसलाई स्वीकार गरेको उल्लेख गरे ।
उनले लिखित सम्झौतालाई हल्का रुपमा लिनु नहुनेमा जोड दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर राष्ट्रिय सहमतिको सरकार बनाए पनि प्रतिपक्ष बलियो हुनुपर्ने बताए ।
उनले कमजोर प्रतिपक्षले सत्तापक्षभित्र निरंकुश प्रवृत्ति निम्त्याउन सक्ने चेतावनी दिए ।
कोइरालाले विगतका गल्ती सच्याउनुपर्ने र संविधानको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै संविधानको मौलिक भावनामा परिमार्जन हुन नसक्ने बताए ।




