ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई आरक्षण विरोधी प्रदर्शनमा बढ्दो हिंसाका कारण घरभित्रै बस्न सल्लाह दिएको छ ।

दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक बाहेक आफ्नो हालको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

दूतावासले कलेज प्रशासनले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिँदा वा हालको बासस्थान असुरक्षित भएमा विद्यार्थीहरूले सहयोगका लागि दूतावासमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ।

हालसम्म आन्दोलनका कारण तीन विद्यार्थीसहित ६ जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिनेहरूका छोराछोरीहरूलाई दिइएको आरक्षणलाई लिएर विद्यार्थीहरूले यस नीतिको विरोध गर्दै विरोध प्रदर्शनहरू सुरु भएको थियो।

प्रदर्शनकारी विद्यार्थी र सत्तारुढ अवामी लिगको विद्यार्थी संगठन बंगलादेश छत्रालिगबीच देशका विभिन्न भागमा हिंसात्मक झडप भएको बताइएको छ ।