अमेरिकी उपसचिव वर्माले प्रधानमन्त्रीसँग भेट
२०८१ भाद्र १, शनिबार ०८:५९
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपसचिव रिचार्ड राहुल वर्माले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार शुक्रबार दिउँसो दुवै जनाबीच शिष्टाचार भेट भएको हो । वर्मा नेपालको एकदिने औपचारिक भ्रमणमा आएका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने र आपसी हितका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा सन् १९५० देखि अमेरिकाले गर्दै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।
उनले सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित अवस्थाबाट बाहिर निकाल्नका लागि भइरहेको प्रयासलाई प्रकाश पार्दै बर्मालाई राजनीतिक सहमतिका आधारमा अन्तिम रूप दिइँदै आएको नेपालको सङ्क्रमणकालीन न्याय कानूनको प्रगतिबारे जानकारी गराए।
नेपाल र अमेरिकाबीचको ७७ वर्षको कूटनीतिक सम्बन्धको स्मरण गर्दै उपसचिव वर्माले नेपालको विकासमा अमेरिका साझेदार हुन पाउनु खुशीको विषय भएको बताए ।
उनले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढेकोमा नेपाललाई बधाई समेत दिए ।
बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्य स्वकीय सचिव राजेश बज्राचार्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सहभागिता थियो ।




