ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरव
विश्वकै ठूलो भैरवको ललितपुर गोदावरीको छम्पीमा ख्वापाः (मुखाकृती) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण सुरु भएको छ।
साे पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले वताए ।
साे मुखाकृती लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ। भवनको अगाडीपट्टी मुखाकृती र भवन भित्र कला संग्रहालय स्थापना हुनेछ। विश्वकै ठूलो भैरवको मुखाकृती निर्माण हुने भएकाले यसलाई गिनिज बुकमा नाम लेखाउन सकिने विश्वास गरिएको छ।
जसको कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको मुखाकृती तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ।
“भैरवको मुखाकृतीको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ”, प्रवक्ता महर्जनले भने, “भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन्।”
जहाँ मुखाकृतिको ४२ फिटको उँचाईमा भएको भैरवको आँखा (भैरव दृष्टि) बाट काठमाडौँ उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवालेकन गर्न सकिनेछ।
मुखाकृती परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभा कक्ष निर्माण गरिनेछ।
परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, बृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्याङ्क्वेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकूद, स्वीमिङपुल लगायतको समेत सुविधा हुने बताइएको छ।