निर्मला पन्तको हत्याको गहिरो छानबिन हुन्छ : गृहमन्त्री
२०८१ भाद्र २०, बिहीबार १६:०७
गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको हत्या प्रकरणको गहिरो अनुसन्धान गरिने बताएका छन् ।
महेन्द्रनगरमा आज पत्रकार सम्मेलनमा बोल्दै उनले घटनालाई गम्भीरताका साथ हेरिएको बताए ।
‘मैले यो मुद्दालाई निकै गम्भीरतापूर्वक लिएको छु। यस घटनाको गहिरो अनुसन्धान गरिनेछ,’ उनले भने।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
दोधारा चाँदनीलाई देशकै ठूलो नाका बनाउने योजना पनि गृहमन्त्रीले घोषणा गरेका छन् ।
‘कञ्चनपुरलाई त्रिदेशीय सिमाना बनाउने प्रयास अघि बढेको छ । दार्चुलाको तिङ्करमा छिट्टै अध्यागमन कार्यालय स्थापना गरी चीनसँग जोडिनेछ ।”
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि भारत तयार रहेको र आगामी दुई महिनाभित्र निर्माणका लागि टेण्डर आह्वान गर्ने पनि बताए ।
आफ्नो गृह जिल्लाको तीन दिने भ्रमणका क्रममा मन्त्रीले कञ्चनपुरमा दुई नयाँ प्रहरी भवनको उद्घाटन गर्नुका साथै बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।




