पुँजीगत खर्चको विनियोजन बढाइने : अर्थमन्त्री
२०८१ भाद्र २७, बिहीबार २०:१८
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई तीव्रता दिन सरकारले पुँजीगत खर्चको विनियोजन बढाउने बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसंघ र लगानी बोर्डले संयुक्त रुपमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा उपप्रधानमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
‘सरकारले कानुनी र नीतिगत अवरोधहरू तोडेर भौतिक पूर्वाधार विकासमा वैदेशिक सहायतालाई प्राथमिकतामा राखेको हो,’ उनले भने, ‘समृद्ध नेपालः सुखी नेपाली’ निर्माण गर्ने उद्देश्यले यी प्रयासहरू भएका हुन् ।
उहाँका अनुसार दिगो, गुणस्तरीय र लचिलो भौतिक पूर्वाधार समयको आवश्यकता हो । आर्थिक र वित्तीय अनुशासन र वित्तीय जवाफदेहिता कायम गरी सार्वजनिक वित्त परिचालन गरिने उनले बताए ।
त्यसैगरी वित्तीय तथा मौद्रिक नीतिलाई सान्दर्भिक र समयसापेक्ष बनाइनेछ ।
अर्थमन्त्रीले भूपरिवेष्ठित मुलुक र कठिन भूगोल भएकाले पूर्वाधार निर्माण नेपालका लागि चुनौतीपूर्ण काम भएको तर्क गरे ।




