काठमाडौंमा आजदेखि इन्द्रजात्रा
२०८१ भाद्र ३०, आईतवार १०:१४
काठमाडौं उपत्यकामा मनाइने प्रमुख चाड इन्द्रजात्रा आजदेखि सुरु हुँदैछ ।
वर्षा र शुभ समयका देवता मानिने इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइन्छ । नेवार समुदायमा यसलाई येन्या पुन्ही भनिन्छ।
वसन्तपुरको हनुमानढोका अगाडि इन्द्रध्वजा वा झण्डासहितको पोल लगाएपछि पर्व सुरु हुन्छ । आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजा–आराधना गरी मनाइन्छ ।
काठमाडौं बाहेक ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा जिल्लामा पनि यो पर्व मनाइन्छ ।
पर्वको मुख्य दिन गणेश, भैरव र कुमारी बोकेका रथहरू काठमाडौंका चोकचोकमा परिक्रमा गरिन्छ ।
वसन्तपुर दरबार स्क्वायरमा आयोजना हुने विशेष समारोहमा यी रथलाई राज्य प्रमुख र अन्य विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गर्छन्।
यसैबीच संघीय सरकारले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।




