राजेन्द्र महतोले नयाँ राजनीतिक दलको घोषणा
२०८१ आश्विन १, मंगलवार २१:०८
‘बहुराष्ट्रिय राज्य’ स्थापना गर्ने उद्देश्यले बनेको राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी गठनको घोषणा गरेका छन् ।
मङ्गलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समितिको उद्घाटन बैठकमा महतोले सबै उत्पीडित नागरिकको अधिकारका लागि लड्न यो पार्टीको जन्म भएको घोषणा गरेका हुन् ।
उनले मुलुकमा बहुराष्ट्रिय राज्य स्थापना गर्न पार्टी प्रतिबद्ध रहेको दाबी गरे । महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशको आर्थिक अवस्था सुधार गर्दै देशको विविध संस्कृति जोगाउन आवश्यक योजना बनाउने पनि बताए ।
महतोले लोकतन्त्रभित्र पनि पहिचान नभएका जनताको हक र पहिचानको मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेकोमा जोड दिए । उनले अधिकारको लडाइमा राज्यले एकता हुन नसकेको भन्दै आलोचना गरे ।
तीन दिने बैठकमा भावी रणनीति, पार्टी गठन, समसामयिक राजनीतिक अवस्था र राष्ट्रिय मुक्ति क्रान्तिको एजेण्डाका विषयमा छलफल हुनेछ ।




