प्रधानमन्त्री ओली भोलि न्यूयोर्क जाँदै
२०८१ आश्विन ३, बिहीबार १३:२१
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि न्यूयोर्क जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्रीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
७९औं संयुक्त राष्ट्र महासभाको साधारण बहसको नारा ‘कसैलाई पनि पछाडि नछोड्नेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ रहेको छ ।
प्रधानमन्त्री ओली सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको उद्घाटन सत्र र सेप्टेम्बर २५ मा अमेरिकी राष्ट्रपति जोसेफ रोबिनेट बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको ग्लोबल समन्वय ब्यूरो (एलडीसी) को अध्यक्षका रूपमा भविष्यको शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्वको खतरालाई सम्बोधन गर्ने उच्च-स्तरीय पूर्ण बैठक र एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) मा उच्च-स्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन्।
सेप्टेम्बर २३ मा प्रधानमन्त्री ओलीले कोलम्बिया युनिभर्सिटीमा ‘नेपालको जर्नी टु डेमोक्रेसी एण्ड इकोनोमिक प्रोप्रिटी’ विषयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम छ ।
यसका साथै उनले सेप्टेम्बर २७ मा हार्वर्ड विश्वविद्यालयको जोन एफ केनेडी जुनियर फोरममा “नेपालको सम्भाव्यता: सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायसम्म” विषयमा पनि बोल्नेछन्।
त्यसैगरी प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने र संयुक्त राष्ट्रसङ्घको महासभाको मार्जिनमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।




