नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन हाल न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार यहाँ द्विपक्षीय भेटवार्ता गरेका छन् ।    

अमेरिकाको लोट्टे न्यूयोर्क प्यालेस होटलमा दुई प्रधानमन्त्रीसहित नेपाल र भारतका परराष्ट्रमन्त्री र अन्य अधिकारीबीच भेटवार्ता भएको थियो ।    भेटपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले भेट सकारात्मक रहेको बताए ।  

  बैठकमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण रुपमा भएको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमण गर्ने जानकारी पनि दिए ।    

सो अवसरमा परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापालगायत सहभागी थिए । नेपाल तथा विदेशमन्त्री एस जयशंकर र भारतीय तर्फबाट सचिव विक्रम मिश्री सहभागी थिए ।