ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले त्रिशूली ३बी हब २२०/१३२/३३ केभी सब-स्टेशन र ट्रान्समिसन लाइनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ।

आज सब-स्टेशनको स्थलगत अवलोकन गर्दै मन्त्री खड्काले ट्रान्समिसन लाइन विस्तारका क्रममा देखिएका समस्याहरू समाधान गरी थप जनशक्ति भर्ना गरेर पनि निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको हो। ट्रान्समिसन लाइन विस्तारको ढिलाइले गर्दा राज्यलाई दैनिक ठूलो घाटा बेहोर्नु परिरहेको भन्दै उहाँले शीघ्र कार्य सम्पन्न गर्न जोड दिनुभयो।

त्रिशूली ३बी हब २२०/१३२/३३ केभी सब-स्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ भने चिलिमेबाट सब-स्टेशनसम्म जोड्ने ट्रान्समिसन लाइनको काम मैलुङ क्षेत्रमा अवरुद्ध भएको छ।

यसैबीच, मन्त्री खड्काले आजै रसुवाको उत्तरगया गाउँपालिकामा अवस्थित त्रिशूली ३ए जलविद्युत् आयोजना पनि निरीक्षण गर्नुभयो।

प्रतिनिधि सभा सदस्य मोहन आचार्य, मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोलीले समेत आयोजनाको निरीक्षण गरेको थियो।