कोशी र मधेशमा हावाहुरीको सम्भावना
२०८१ आश्विन ९, बुधबार १०:०८
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणमा रहेको र देशभर मनसुनको हावाको प्रभाव कायम रहेको छ।
साथै, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि परेको छ जसका कारण देशका अधिकांश भागमा बादल लागेको मौसम रहेको छ।
हाल देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका सबै प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा पनि हुन सक्नेछ। कोशी प्रदेशका तराई र मधेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।
त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।




