दशैं मनाउन घर फर्किने भिड
२०८१ आश्विन १८, शुक्रबार १६:५४
दशैं मनाउन घर फर्किनेु काठमाडौं उपत्यका छोड्ने व्यक्तिहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
गोंगबुस्थित नयाँ बसपार्क अहिले दशैं मनाउन घर फर्कनेहरू र अग्रिम बस टिकट किन्नेको भीडका कारण भरिभराउ हुँदै गएको छ।
नेपालको सबैभन्दा ठूलो पर्व दशैंको सुरुवातसँगै विभिन्न कारणले काठमाडौं उपत्यकामा बसोबास गर्ने व्यक्तिहरू परिवार र आफन्तसँग दशैं मनाउन घर फर्किन थालेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार, सेप्टेम्बर ३० देखि अक्टोबर ३ बिहानसम्म १,२६,४३५ जनाले बस, ट्रक र मोटरसाइकललगायतका सवारी साधन प्रयोग गरी काठमाडौं उपत्यका छोडेका छन्।
यस्तै, काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले दशैंको सुरुवातसँगै विद्यालयहरू बिदा भएपछि नयाँ बसपार्कमा घर फर्कनेहरूको भीड बढेको बताउनुभयो।
उहाँले यात्रुहरूको सहज यात्राका लागि बसपार्कमा सहयोग कक्ष स्थापना गरिएको र त्यहाँ बढ्दो भीडलाई ध्यानमा राखी थप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो।
त्यस्तै, नयाँ बसपार्क, कलंकी र कोटेश्वर क्षेत्रमा पनि घर फर्कनेहरूको भीड र सवारी साधनको चाप बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दशैं पर्वको समयमा यात्रु र सवारी साधनको चापका कारण काठमाडौंका प्रवेश र निकास बिन्दुहरूमा ठूलो ट्राफिक जाम देखिएको छ। काठमाडौं-धनगढी मार्गमा सुदूरपश्चिम ट्राभलका चालक रमित ओलीले दशैं सुरु भएपछि सहर छोडेर घर जाने यात्रुको संख्या उल्लेख्य रूपमा बढेको बताउनुभयो।
वर्षा जन्य विपत्तिका कारण सडकको अवस्था बिग्रिए पनि सवारी साधनहरू यात्रुहरूले भरिएका छन्। बिहीबार दिउँसोसम्म बस, माइक्रोबस, ट्रक, निजी कार र मोटरसाइकलसहित ८२० वटा सवारी साधन काठमाडौंबाट छुटेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ती सवारी साधनबाट १३,५०३ यात्रुहरू शहरबाट बाहिरिएका छन्।
आज दिउँसोसम्म ६,५५४ यात्रु लिएर ५४४ सवारी साधन काठमाडौं प्रवेश गरेका छन्। प्रहरीले तथ्यांक राख्न नसक्ने आरक्षित र निजी सवारी साधनमा यात्रा गर्नेहरूको संख्या पनि धेरै नै रहेको बताइएको छ।
बस काउन्टरहरूले पहिले नै अक्टोबर ९ सम्मका लागि अग्रिम टिकट बुकिङ स्वीकार गरिसकेका कारण यात्रुहरूलाई टिकट पाउन अत्यन्त गाह्रो भइरहेको छ। रोल्पाका ललित मगरले बिहान सबेरै गोंगबुस्थित नयाँ बसपार्क पुगेको भए पनि घर जाने बस टिकट पाउन संघर्ष गरिरहेको बताए




