पौडेलले गुटेरेसबीच भेट
२०८१ कार्तिक २६, सोमबार १८:१८
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच छोटो भेटवार्ता भएको छ।
उनीहरू कतारको दोहाबाट अजरबैजानको बाकु जाने क्रममा जहाजमै भेट भएका थिए। उनीहरू दुवैजना संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (COP-29) मा सहभागी हुन गइरहेका थिए।
भेटको क्रममा जलवायु परिवर्तनले उत्पन्न गरेको समस्याबारे छोटो कुराकानी भएको थियो। “जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो। यस समस्याको समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्छ, जसले गर्दा पहाडहरू, पृथ्वी र मानव समुदायलाई सुरक्षित राख्न सकिन्छ,” राष्ट्रपति पौडेलको भनाइलाई उनका प्रेस सल्लाहकार किरण पोखरेलले उद्धृत गरे।
महासचिव गुटेरेस राष्ट्रपतिलाई भेट्न उनको सीटमा आएका थिए। राष्ट्रपति पौडेल दोहा हुँदै उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै COP29 सम्मेलनमा सहभागी हुन यहाँ आएका हुन्, जुन आजबाट सुरु भएको छ।




