बालेन शाहले उम्मेदवारलाई समर्थन नगर्ने
२०८१ मंसिर २, आईतवार १५:५८
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने उनका सचिवालयले जनाएको छ।
किर्तिपुर नगरपालिकाको मेयर र दुई वडाहरू तथा काठमाडौं महानगरको वडा नम्बर १६ को लागि हुन लागेको उपनिर्वाचनमा बालेनले कुनै उम्मेदवार उठाउने वा कसैलाई समर्थन गर्ने अड्कल गरिएको थियो। तर, मेयर शाहको कार्यालयले स्पष्ट रूपमा कुनै उम्मेदवारलाई समर्थन नगर्ने जानकारी दिएको छ।
बालेनको सचिवालयका अनुसार मेयर शाह उपनिर्वाचनमा कुनै भूमिका निर्वाह गर्ने छैनन्।
“बालेन शाहले कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन्। उहाँको नाम कुनै पनि चुनाव प्रचारमा जोड्न नखोजियोस्,” सचिवालयले आइतबार जानकारी दिएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ठूलो मतान्तरसहित काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेनले यस पटकको उपनिर्वाचनमा आफ्नो प्रभाव प्रयोग गर्ने अपेक्षा धेरैले गरेका थिए। तर, उनले यसपालि कुनै उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेका छन्।




