मन्त्रिपरिषद् बैठक स्थगित
२०८१ मंसिर ४, मंगलवार १८:१३
मंगलबार साँझका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल भइरहेकाले बैठक सारिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा पुनः वार्ता भइरहेको छ। वार्तामा देउवासँगै महामन्त्री गगनकुमार थापा र परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा सहभागी छन्।
एमाले पक्षबाट प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमाललगायत सहभागी छन्।
सोमबारको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको आगामी चीन भ्रमण र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) विषयमा केन्द्रित वार्ता भएको थियो।
प्रधानमन्त्री ओलीको मंसिर १७ (डिसेम्बर २) मा हुने चीन भ्रमणलाई ध्यानमा राख्दै दुवै पक्षले बीआरआईमा एकरूपता कायम गर्ने प्रयास गरिरहेका छन्। कांग्रेसले बीआरआई अन्तर्गतको लगानी अनुदानमा परिणत गर्न जोड दिएको छ भने एमालेले अन्य दातृ निकायजस्तै सहुलियतपूर्ण ऋण लिन सकिने पक्षमा लचकता देखाएको छ।
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल भएको छ। दुवै पार्टीले कमजोर प्रदर्शन गर्ने मन्त्रीहरू परिवर्तन गर्न तयारी गरिरहेका छन्।
यसअघि, मंगलबार दिउँसो देउवाले कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग बूढानीलकण्ठमा छुट्टाछुट्टै छलफल गरेका थिए। सोमबार गृहमन्त्री रमेश लेखकले जनाए ।




