सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गर्नुभएको छ।
सामाजिक सुरक्षा कोषद्वारा सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ९० दिनपछि सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिहरूका छोराछोरीले पनि लाभ पाउने व्यवस्था गरिने बताउनुभयो। साथै, उपचार खर्च १ लाख रुपैयाँभन्दा बढी भएमा योगदानकर्ताले कुल खर्चको ५० प्रतिशत पाउने व्यवस्था गरिनेछ।
प्रधानमन्त्रीले संविधानमा सुनिश्चित गरिएको मौलिक अधिकारको व्यवस्थालाई कार्यान्वयन गर्न र देशलाई आधुनिक, विकसित र समृद्ध बनाउन सरकार जिम्मेवार र उत्तरदायी हुने बताउनुभयो।
सो अवसरमा प्रधानमन्त्री ओलीले कोषमा बढी योगदान र सेवा प्रदान गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्नुभयो।
सामाजिक सुरक्षा अभियान प्रधानमन्त्री ओलीकै नेतृत्वमा छ वर्षअघि सुरु गरिएको थियो।