लुम्बिनी प्रदेश सरकारले परियोजना बैंक स्थापना गर्न अघि बढेको छ।

आर्थिक वर्ष २०८१-८२ (२०२४-२५) का वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत परियोजना बैंक स्थापना गर्ने योजना अघि सारिएको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रस्तावित परियोजना बैंकले परियोजनाहरू छनोट गर्न पारदर्शी प्रणाली निर्माण गर्ने र प्रदेशको समृद्धि तथा आत्मनिर्भरताका अवसरहरू खोल्न रणनीतिक योजना तयार गर्ने बताउनुभयो।

लुम्बिनी प्रदेश योजना आयोगले बैंक स्थापना गर्न मार्गनिर्देश तयार गर्न विभिन्न तहमा छलफल सुरू गरिसकेको छ।

यस प्रक्रियामा सामाजिक र मानव विकासका पक्षलाई प्राथमिकतामा राख्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्।

वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले यो बैंकले परियोजना छनोट प्रक्रियालाई सहभागीमूलक, तथ्यमा आधारित र पारदर्शी बनाउने अपेक्षा व्यक्त गर्नुभयो।

परियोजना विज्ञ डा. नहाकुल केसीले परियोजना बैंकले परियोजनाहरू समेट्न र छनोट प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न उपयोगी उपकरणको रूपमा काम गर्ने बताउनुभयो।