अमेरिकी मन्त्री डोनाल्ड लू आज सिंहदरबारमा
अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अमेरिकी सहायक विदेश मन्त्री (दक्षिण तथा मध्य एसियाली मामिला) डोनाल्ड लूबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरूबारे छलफल भएको छ।
बैठकमा मुख्य रूपमा आर्थिक सहकार्य, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाहरूको कार्यान्वयन, अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (यूएसएआईडी) अन्तर्गतका परियोजनाहरू, विकास वित्तीय स्रोतको परिचालन, र निजी क्षेत्रको लगानी जस्ता विषयमा चर्चा भएको थियो।
अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माका अनुसार, अमेरिकी अधिकारी लूले नेपालमा अमेरिकी विकास वित्त निगम (DFC) मार्फत थप लगानीको सम्भावना खोज्ने विषयमा चासो देखाएका थिए।
अर्थमन्त्री पौडेलले नेपालको आर्थिक विकासलाई प्राथमिकता दिँदै निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्ने सरकारको प्रतिबद्धता पुनः दोहोर्याए। साथै, उनले अमेरिकी सहयोग अझ विस्तार गर्न आग्रह गरे।
डोनाल्ड लूले नेपालले आर्थिक वृद्धिलाई कायम राख्न गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।