विश्वकै पाँचौँ प्रदूषित सहर काठमाडौ
काठमाडौं आज विश्वकै पाँचौँ प्रदूषित सहर बनेको छ।
जाडोको चिसो मौसमसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ।
वायु गुणस्तर सूचकांक (AQI) अनुसार, उपत्यकाको आजको सूचकांक २०५ छ, जसले काठमाडौंलाई विश्वको पाँचौँ प्रदूषित सहरको सूचीमा राखेको छ।
यो सूचीमा पहिलो स्थानमा पाकिस्तानको लाहोर (सूचकांक३४१), दोस्रोमा भारतको कोलकाता (२४८), तेस्रोमा मङ्गोलियाको उलानबातर (२३८), र चौथोमा भारतकै नयाँ दिल्ली (२२७) छन्।
पर्यावरणविद् भूषण तुलाधरका अनुसार जाडो मौसममा वायु प्रदूषण झन् खराब हुने गर्छ, किनभने चिसो मौसमले वायुलाई जमिन नजिकै थुनिदिन्छ, जसले गर्दा प्रदूषक कणहरू छरिन सक्दैनन्।
यस अवस्थालाई झन् जटिल बनाउन फोहोर जलाउने, टायर जलाउने, र दाउरा बाल्ने जस्ता क्रियाकलापले थप प्रदूषण सिर्जना गर्छ।
वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञहरूले चाँडो समाधान खोज्नुपर्ने औंल्याएका छन्।
सूचकांक ०-५० लाई राम्रो मानिन्छ, ५१-१०० मध्यम, १०१-१५० संवेदनशील समूहका लागि हानिकारक, १५१-२०० सबैका लागि हानिकारक, र २०० माथिको स्तर अत्यधिक हानिकारक मानिन्छ।
यस समस्याको समाधानका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना (२०१९) ले फोहोर जलाउन रोक लगाउने, सडक सफा गर्न मेकानिकल स्वीपर र भ्याकुम प्रयोग गर्ने, र बालबालिका, वृद्धवृद्धा, तथा रोगीहरूलाई सचेत गराउने उपाय सुझाएको छ।
राष्ट्रिय वातावरणीय नीति (२०१९) ले दीर्घकालीन समाधानका लागि प्रमुख सहर र औद्योगिक क्षेत्रमा वायु, पानी, र ध्वनि गुणस्तर अनुगमन केन्द्र स्थापना गर्न, प्रदूषणको नक्सांकन गर्न, र हानिकारक रसायन निस्कासन रोक्न जोड दिएको छ।
काठमाडौं उपत्यकाको वायु प्रदूषणले जनस्वास्थ्यमा ठूलो खतरा उत्पन्न गरिरहेकोले तत्कालीन तथा दीर्घकालीन उपायहरूको आवश्यकतालाई अझ बलियो बनाएको छ।