कोशी र गण्डकी प्रदेशका भूभागमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देशभर कायम रहेको छ।
कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यत: सफा रहनेछ।
मध्य र पूर्वी तराईका केही स्थानहरूमा अहिले कुहिरो लागेको छ।
कोशी प्रदेशका पहाडी क्षेत्रमा आज दिनभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ भने बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि यस्तै मौसम रहने महाशाखाले जनाएको छ।
देशका अन्य भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पनि कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सफा रहनेछ।
अगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहीबार बिहान तराईका केही क्षेत्रमा कुहिरो लाग्ने सम्भावना भएकाले महाशाखाले दैनिक जीवन, स्वास्थ्य, यातायात, र उड्डयनमा पर्न सक्ने असरबारे सतर्क रहन अनुरोध गरेको छ।