नेपालमा दुई दशकभन्दा पुरानो ब्राण्ड जगदम्बा सिमेन्ट अब सर्वोत्तम सिमेन्टको स्वामित्वमा पुगेको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनीको पूर्ण अधिग्रहण गरेको हो।

सन् २००१ मा स्थापना भएको जगदम्बा सिमेन्टको स्वामित्व हस्तान्तरण सम्बन्धी निर्णय सर्वोत्तम सिमेन्टको छैठौं वार्षिक साधारण सभामा सार्वजनिक गरियो। सम्झौता अनुसार, शुभश्री जगदम्बा सिमेन्ट मिल्सको सेयर प्रतिकित्ता १०० रुपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको सेयर १५ रुपैयाँमा खरिद गरिएको छ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेका अनुसार, यो अधिग्रहणसँगै कम्पनीले २३ वर्ष पुरानो ब्राण्ड, उसको बलियो डिलर नेटवर्क र बजारमा स्थापित पहिचान प्राप्त गरेको छ। खरिद प्रक्रिया स्वतन्त्र लेखा परीक्षक (डीडीए) को प्रतिवेदनअनुसार सम्पन्न गरिएको उनले स्पष्ट पारे।

उद्योग विस्तारको महत्व उल्लेख गर्दै, अध्यक्ष न्यौपानेले नयाँ उद्योग स्थापना गर्न हालको लगानीको तीन गुणा बढी पूँजी आवश्यक पर्ने र बजार प्रवर्द्धनमा थप समय लाग्ने बताए। यही सन्दर्भमा, सञ्चालित उद्योग अधिग्रहण गर्नु कम्पनीको रणनीतिक निर्णय भएको उनले सेयरधनीलाई जानकारी गराए।

यस अधिग्रहणसँगै, शंकर ग्रुपले जगदम्बा सिमेन्टबाट पूर्ण रूपमा हात झिकेको छ। अर्ब रुपैयाँ पुँजी रहेको यस कम्पनीमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व थियो। सर्वोत्तम सिमेन्टको यो कदमले ठूलो संख्यामा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ।